गैरआवासीय नेपाली संघले भेट्याे नेकपा संयोजक प्रचण्ड
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ।
सोमवार एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्रमा संघको तर्फबाट हालसम्म चालिएका राहत तथा उद्धारका कदमबारे जानकारी गराउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सो अवसरमा संयोजक प्रचण्डले संकटको समयमा एनआरएनएले पुर्याउने मानवीय सहायताको उच्च प्रशंसा गरेका थिए।
भेटका क्रममा विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि वंशजको नागरिकताको निरन्तरता अपरिहार्य रहेको विषयलाई प्रतिनिधिमण्डलले जोडदार रूपमा उठाएको थियो। जवाफमा सकारात्मक प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले गैरआवासीय नेपालीहरूको वंशजको नागरिकताको मुद्दामा आफू सुरुवाती दिनदेखि नै सकारात्मक रहेको स्पष्ट पारे। संयोजक प्रचण्डले यससम्बन्धी व्यवस्था गर्दा राजनीतिक बाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू सुनिश्चित गर्न सकिने विषयमा आफू स्पष्ट रहेको बताउँदै नेपाली मूलका नागरिकहरूको पहिचान स्थापित गर्न नीतिगत तहमा आवश्यक पहल गर्ने दृढ आश्वासन दिए।
साथै, विदेशमा रहेका नेपालीहरूको सीप, पुँजी र प्रविधिलाई मातृभूमिमा भित्र्याउन नागरिकताको निरन्तरताले थप उत्साह थप्नुका साथै कानुनी बाटो खोल्ने उल्लेख गर्दै उनले यसलाई आगामी दिनमा अन्य राजनीतिक दलहरूसँगको संवादमार्फत निष्कर्षमा पुर्याउने बताए।






प्रतिकृया दिनुहोस