पहिराेले थुनिएकाे मर्स्याङ्दी नदी विस्फाेट गराएर खुलाउने तयारी

पाेखरा। आइतबारको पहिरोले थुनिएको मर्स्याङ्दी नदीको भू-भाग अझै खुल्न सकेको छैन।

स्थानीय प्रशासनले थुनिएको पहिरोको खण्डलाई पहिलेकै धारमा फर्काउन प्रयास गरेको भए पनि सहज नभएको बताएको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आइतबार बेलुकी झरेको पहिरोले थुनिएको नदीको बहाव पूर्ण रुपमा खुलाउन नसकिए र विकल्पमा जाने तयारी भएकाे जानकारी दिए।

पौडेलका अनुसार ब्लास्ट गर्न पहिरोभित्र रहेका ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ। त्यसका लागि मंगलबारदेखि दुईवटा डोजरले लेदो र ढुंगा पन्छाइरहेका छन्।

‘ब्लास्ट गर्न लेदोभित्र ढुंगामा प्वाल पार्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘डोजर लगाएर लेदो पन्छाउँदैछौं। ब्लास्ट गर्ने तयारीस्वरूप अहिले दुईवटा डोजरले पहिरोको लेदो हटाइरहेका छन्।’

चामे नजिकै भीषण पहिरो झर्दा मर्स्याङ्दी नदीको केही भाग थुनिएको थियो। नदीको केही भाग पहिरोले थुनिएपछि तल्लो तटीय क्षेत्रमा जोखिम हुने भन्दै सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ।

लमजुङ हिमालबाट आएको खोला नजिकै पहिरो खसेको हो। पहिरो मर्स्याङ्दी नदीमा आएर मिसिएको छ।

थुनिएको नदीको बहाव खोल्नका लागि त्यहाँ खसेको बढेमानामा ढुंगा फुटाउनुपर्ने र त्यसका लागि विस्फोटक पदार्थ ल्याउने प्रयास भइरहेको उनले बताए।

‘विस्फोटक पदार्थ प्रयोग गरेर ढुंगा फुटाएर मात्र बहाव पहिलेकै स्वरूपमा फर्काउन सकिन्छ। त्यसका लागि विस्फोटक सामाग्री ल्याउने प्रयास भइरहेको छ,’ उनले भने।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदीको थुनिएको भागको लम्बाई करिब ५ सय मिटर र चौडाइ पनि झन्डै २ सय मिटर नै छ।

बाढीको डुबानभित्र ४ वटा होटेल पनि पुरिएको उनले बताए। उनका अनुसार आइतबार जोखिममा रहेका स्थानीय नागरिक सोमबार बिहान भएपछि मात्र घर फर्केका छन्। तर, जोखिम र त्रास भने नागरिकमा कायम रहेको उनले बताए।

यसैबीच मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा आइतबार बिहान हिमपहिरो जाँदा सम्पर्कविहीन भएका मध्ये थप दुई जनाको शव सोमबार फेला परेको स्थानीय प्रशासनले बताएको छ।

हिमपहिरोमा परेका १२ जना अझै सम्पर्कविहीन छन्। हिम पहिरोमा परेर दुई जनाको शव आइतबार नै फेला परेको थियो। अहिलेसम्म ४ जनाको शव फेला परेको र १२ जना अझै सम्पर्कविहीन छन्।

नार्पाभूमि गाउँपालिका–५, फू मा पर्ने ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमाल आरोहण लागि आएका विदेशीका लागि अग्रिम तयारी गर्न गएको नेपाली गाइड र सहयोगीको समूह हिम पहिरोमा परेको हो। आइतबार राती साढे १ बजेतिर आएको हिमपहिरो उनीहरू बसेको क्याम्पमा बजारिएको थियो।

उनका अनुसार खोजी र उद्धारका लागि खटिएको टिम अहिले पनि हिमपहिरो क्षेत्रमा रहेको उनले बताए। विदेशी पाहुनाको आरोहणको तयारीका लागि दुईवटा समूहमा २७ जना नेपाली सहयोगी त्यहाँ पुगेका थिए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर