खानेपानी कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । खानेपानी सिँचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रिमालसहित सो कार्यालयका तत्कालीन सव–इन्जिनियर विश्वराज भण्डारी, तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, सोरु गाउँपालिका वडा नं. ३ का तत्कालीन वडाअध्यक्ष लालु धामी, गल्फागाड छहराखेत भिई जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदिप बुढा, उपाध्यक्ष भिमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा हुम्ला अदानचुली गाउँपालिका कुकुर फाल्चा छहरा खेतदेखि मुगु सोरु गाउँपालिका वडा नं. ३ भिईसम्म बत्ती विस्तार कार्यको फिल्डमा वास्तविक भए गरेको कार्यभन्दा बढी भुक्तानी गरी गराइ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम नौ लाख २६ हजार २३२ रुपियाँ कायम गरी उनीहरुविरुद्ध कैद सजाय र जरिवाना हुन मागदाबी लिइ बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।






प्रतिकृया दिनुहोस