• २०८३ असोज २१ बुधबार
  • Wednesday, 7 October, 2026

कांग्रेसकाे बन्दसत्र वर्षाले बिथाेल्याे

काठमाडाैं। गगन थापा नेतृत्वकाे नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन वर्षाका कारण प्रभावित भएको छ। प्रवक्ता देवराज चालिसेले आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको बताए।

बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि सुरु गर्ने तयारी भएको थियो। तर अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै प्रभावित भएको छ। खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकिरहेका छैनन्।

कांग्रेसको बन्द सत्र खुलामञ्चमा जारी थियो। भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको काम गरिरहेको छ। मतदानको तालिका भोलि बिहानबाट छ।

बन्द सत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगन थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी कांग्रेसले गरेको छ।

महाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचनाका विषयमा व्यापक छलफल भइरहेको छ। बन्द सत्रबाट राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।

कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि यसअघि नै उम्मेदवारी दर्ता भइसकेको छ। सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसँगै महाधिवेशनको ध्यान अब निर्वाचनतर्फ केन्द्रित हुनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर