सासूको नाममा ब्रोकर कम्पनी खडा गरेर कारोबार गर्थे बिचाैलिया भट्ट
काठमाडाैं । विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्टविरुद्ध छैटौँ मुद्दा दायर भएको छ ।
पाँच मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्टसहित बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालगायत १८ विरुद्ध बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
भट्टको योजना र प्रमुख भूमिकामा अन्य व्यक्ति तथा कम्पनी सहभागी भएर बिमा र सम्पत्ति शुद्धीकरण कसुर गरेको आरोपपत्रमा उल्लेख छ । भट्टले हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत अन्य बिमा कम्पनी एवं तिनका सहायक कम्पनीहरूको कोषको रकम योजनाबद्ध रूपमा हिनामिना एवं दुरुपयोग गरी आफूले निजी लाभ प्राप्त गरेको दाबी गरिएको छ ।
बिमा कोष तथा पुनर्बिमा कोषको रकमलाई आफैँ वास्तविक धनी भई सासू अञ्जना नेपालका नाममा ब्रोकेज कम्पनी एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि खडा गरी कारोबार र सेयर लगानीमार्फत परिचालन गरेर प्राप्त लाभांश आफैँमा केन्द्रित गरेको भेटिएको अनुसन्धान प्रतिवेदनमा छ । बिमकको रकम अपचलन गरी सम्बद्ध कसुर र सम्पत्ति शुद्धीकरण गरेको तथ्य स्थापित हुन आएको दाबी मुद्दामा गरिएको छ ।
१८ फागुन ०७८ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिले बिमा प्राधिकरणबाट पुनर्बिमा दलालका लागि करोबार गर्न इजाजत प्राप्त गरी मुख्य गरी हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडसँग आबद्ध भई कारोबार गरेको थियो । हिमालयन र एलियन्टबिच रि–इन्स्योरेन्स ब्रोकिङ सर्भिस एग्रिमेन्ट भएको थियो । त्यसअनुसार हिमालयनबाट प्राविधिक र लजिस्टिक सहयोगका लागि एलियन्टले विभिन्न मितिमा लिएको पेस्की दुरुपयोग भएको तथा व्यवसायसँग असम्बन्धित अन्य कारोबार भएको आरोपपत्रमा छ ।
अनुसन्धानका क्रममा प्राप्त कागजात, बैंकिङ कारोबारको विवरण, लेखासँग सम्बन्धित कागजात एवं अभिलेख, सम्बन्धित संस्थाको वित्तीय विवरण, नियामक निकायबाट प्राप्त छानबिन प्रतिवेदन तथा अन्य प्रमाणसमेत अनुसन्धान टोलीले विश्लेषण गरेको छ । बिमक हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमेटेडबाट एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिलाई जीवन बिमाको पुनर्बिमा ब्रोकेज कमिसन शीर्षकमा अग्रिम दिएको रकम प्रतिवादीहरूको आपसी मिलेमतोमा योजनाबद्ध तरिकाले झुट्टा तथ्य खडा गरी त्यसको आधारमा कृत्रिम वित्तीय कारोबार गरेको देखिएको आरोपपत्रमा छ । हिमालयनले एलियन्टलाई ०८० असार ४ देखि २० कात्तिकसम्म २८ करोड पेस्की दिएको आरोपपत्रमा छ ।
बिमा ऐनअन्तर्गतको कसुरमा २३ करोड ९२ लाख पाँच हजार ६४ बिगो र सजाय तथा सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड १५ लाखसहित सजाय मागदाबी गरिएको छ । दुवै कसुरमा गरेर भट्टविरुद्धको बिगो ४५ करोड सात लाख पाँच हजार ६४ रुपैयाँ । भट्ट गत १९ चैतमा पक्राउ परेका थिए । उनीविरुद्धका चार मुद्दा अदालतमा विचाराधीन छन् । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यगरो, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरणसमेतका प्रतिनिधि सम्मिलित अनुसन्धान टोलीले छानबिन टुंग्याएर बिहीबार पाँचौँ मुद्दा दायर गरेको हो ।
यो मुद्दामा रकम हिनामिनामा संलग्न अन्य व्यक्ति तथा कम्पनी पनि प्रतिवादी छन् । हिमालयन रि–इन्स्योरेन्स तत्कालीन प्रमुख कार्यकारी अधिकृतहरू चन्द्रशेखरन रामामूर्ति (फरार) र उपासना पौडेल तथा कार्यकारी निर्देशक मनीष कुमारविरुद्ध बिमा ऐनअन्तर्गत संयुक्त २३ करोड ९२ लाख पाँच हजार ६४ रुपैयाँ बिगो छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐनबमोजिम पनि त्यति नै बिगो दाबी छ । दुवै कसुर गरेर ४७ करोड ८४ लाख १० हजार १२८ बिगो कायम छ ।
हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक समितिका शेखर गोल्छा तथा सदस्यहरू रोहित गुप्ता, साहिल अग्रवाल, अमित मोर, सुभाषकुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजीव मोर र साक्षी वंशल गुप्ताविरुद्ध पनि बिमासम्बन्धी र सम्पत्ति शुद्धीकरणका दुवै कसुरमा २३ करोड ९२ लाख पाँच हजार ६४ को दोब्बर कुल ४७ करोड ८४ लाख १० हजार १२८ बिगो कायम छ ।
त्यस्तै, अञ्जना नेपाल, एलियन्ट इन्स्योरेन्स ब्रोकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत सुधीरकुमार मल्लिक र आयुष्मा नेपाल भट्टविरुद्ध पनि बिमा र सम्पत्ति शुद्धीकरणका दुवै कसुरमा २३ करोड ९२ लाख पाँच हजार ६४ को समान दुई बिगोसहित कुल ४७ करोड ८४ लाख १० हजार १२८ बिगो दाबी गरिएको छ । मनोजकुमार अग्रवालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा दुई करोड ४० लाख बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । त्यस्तै, मृदुला सरियाविरुद्ध बिमा कसुरमा २१ करोड १५ लाख र सम्पत्ति शुद्धीकरण कसुरमा पनि त्यति नै बिगो दाबी गरिएको छ । एलियन्ट कम्पनीविरुद्ध पनि २१ करोड १५ लाख बिगो दाबी छ ।
बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध दुई करोड ४० हजार बिगोसहित सम्पत्ति शुद्धीकरण कसुर छ । कसुरमा सहयोग गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो । कसुरमा नियामकीय सहयोगले अपराध हुन गएको दाबी मुद्दामा गरिएको छ ।
फक्स टुर्स एन्ड ट्राभल्स प्रालिउपर पनि मुद्दा छ । दीपक भट्टले आफ्नो लगानीबाट उक्त कम्पनीका नाममा गाडी किनेको गाडी जफत प्रयोजनका लागि कम्पनीलाई प्रतिवादी कायम गरिएको हो । नयाँ पत्रिकाबाट






प्रतिकृया दिनुहोस