• २०८३ असोज २५ आइतबार
  • Sunday, 11 October, 2026

चुनाव जितेपछि गगनले भनेः व्यक्तिले गर्ने गलत कामकाे भारी पार्टीले बोक्दैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू वा पार्टीका कुनै सदस्यले गलत काम गरे त्यसको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताएका छन्।

उनले आफ्नो व्यक्तिगत, पारिवारिक वा आर्थिक जीवनमा अनियमितता भेटिए त्यसको बचाउमा पार्टीका कुनै पनि सदस्य बोल्न नपर्ने बताएका हुन्।

सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बोल्दै थापाले कांग्रेस भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कानुनको शासनमा दृढ रहेको बताए।

‘मेरो व्यक्तिगत जीवन, कांग्रेससँग सम्बन्ध नभएको मेरो पारिवारिक कुरामा, मेरो आर्थिक जीवनमा कतै मबाट अनियमितता हुन्छ भने मेरो बचाउमा एक जना साथीले पनि बोल्ने छैन,’ उनले भने, ‘त्यस्तो कांग्रेस हामीले बनाउने हो।’

उनले कुनै व्यक्तिमाथि लागेको दाग सम्बन्धित व्यक्तिले नै मेट्नुपर्ने बताए।

‘कुनै पनि गलत काम गर्छ, गैरकानुनी काम गर्छ भने त्यसको भारी त्यो व्यक्ति आफैंले बोक्नुपर्छ। पार्टीले त्यो भारी बोक्दैन,’ उनले भने।

सभापति थापाले कांग्रेसको यही महाधिवेशनमा प्रतिस्पर्धा गरेका एक जना पार्टी सदस्य ठगीको मुद्दामा पक्राउ परेको समाचार आफूले पढेको उल्लेख गर्दै गलत कामको जिम्मेवारी पार्टीले लिन नसक्ने बताए।

‘हिजो कतिपय कुराहरूको भारी बोक्नुपर्ने बाध्यता थियो होला। तर यो अधिवेशनसँगै हामी ती तमाम भारी बिसाएर नयाँ संकल्पका साथ अघि बढ्ने गरी आएका छौं,’ उनले भने।

उनले नयाँ कांग्रेसले तत्कालको फाइदाका लागि सम्झौता गर्ने, निजी लाभहानि हेर्ने तथा व्यक्तिगत आचरण र नैतिकताका विषयमा भएका कमजोरीलाई साथ नदिने बताए।

थापाले कांग्रेसको मूल्य, स्वतन्त्रता र समानताका लागि संघर्ष, राष्ट्रप्रतिको प्रेम, राष्ट्रियताप्रतिको समर्पण र सामाजिक न्यायप्रतिको प्रतिबद्धता पुरानै रहेको बताए।

तर, व्यक्तिगत लाभ र नैतिकताका विषयमा सम्झौता गर्ने प्रवृत्ति त्यागेर नयाँ कांग्रेस बनाउने उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर