महाधिवेशन पछिको गगन–विश्व टिम तयार, कस्तो बन्यो?
काठमाडौं। कांग्रेसको १५औँ महाधिवेशनबाट चार वर्षका लागि गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । गत १८ असोजमा उद्घाटन भएको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि २३ असोजमा निर्वाचन भएको थियो । २५ पदाधिकारीमा मनोनीतबाहेक २० पदाधिकारी निर्वाचित हुनेछन् ।
अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १७ निर्वाचित भएका छन् । तीन सहमहामन्त्रीको नतिजा आउन बाँकी छ । कांग्रेस विधानमा मनोनीत ६६ सहित दुई सय ९७ केन्द्रीय कार्यसमितिको व्यवस्था छ ।
सभापतिमा श्यामकृष्ण खड्गीलाई हराउँदै थापा निर्वाचित भएका हुन् । थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गी ३७५ मतमा सीमित भए । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भए । कांग्रेस इतिहासमा वरिष्ठ उपसभापति पद सिर्जना गरेर शर्माको व्यवस्थापन गरिएको हो । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित भए ।
खुला उपसभापतिमा प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र प्रा.डा. चन्द्रमोहन यादव पराजित भए । महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइन् । समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए । समावेशी उपसभापतिमा पाँचजना प्रतिस्पर्धामा रहेकोमा जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्ण पराजित भए ।
खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए । खुला महामन्त्रीमा आठजना प्रतिस्पर्धामा रहेकामा डा. सुनीलकुमार शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुनमगर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय पराजित भए ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित हुँदै इतिहास रचेकी छिन् । कांग्रेस इतिहासमा संग्रौला पहिलो महामन्त्री बनेकी हुन् । तीनजना प्रतिस्पर्धामा रहेकोमा महालक्ष्मी उपाध्याय डिना र रिता खनाल पराजित भए । खुला दुई र विभिन्न क्लस्टरका नौ गरी ११ सहमहामन्त्रीमध्ये सातजना निर्वाचित भएका छन् । बाँकी चारका लागि मतगणना जारी छ ।
सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भए । खुला सहमहामन्त्रीमा नौजना प्रतिस्पर्धी थिए । डिल्लीराम सुवेदी, देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृत अर्याल, रमेश धमला र विमलराज क्षेत्री पराजित भए ।
सहमहामन्त्री महिलातर्फबाट प्रतिमा गौतम निर्वाचित भएकी छिन् । दुईजना प्रतिस्पर्धी रहेकोमा नानुमैया बास्तोला पराजित भइन् ।सहमहामन्त्री मधेशीमा अजय चौरासिया विजयी भए । उनले पूर्वसहमहामन्त्री महेन्द्र यादव, अभिषेकप्रताप शाह, किरण यादव, मनीषकुमार मिश्रलगायतलाई पराजित गरे । सहमहामन्त्री आदिवासी जनजातितर्फबाट बहादुरसिंह लामा निर्वाचित भएका छन् ।
पाँचजना प्रतिस्पर्धी रहेकामा ओमबहादुर घर्तीमगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्तमानसिंह मास्के पराजित भए । सहमहामन्त्री दलिततर्फ प्रकाश स्नेही निर्वाचित भए । तीनजना प्रतिस्पर्धी रहेकोमा मानबहादुर नेपाली र नरेन्द्र पासवान पराजित भए ।
सहमहामन्त्री पिछडिएको क्षेत्रतर्फबाट जीवनबहादुर शाही निर्वाचित भए । पाँचजना प्रतिस्पर्धी रहेकोमा जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट पराजित भए । सहमहामन्त्री मुस्लिमतर्फबाट डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । तीनजना प्रतिस्पर्धी रहेकोमा अब्दुल सत्तार र अतहर कमाल मुसलमान पराजित भए । सहमहामन्त्री (थारू), सहमहामन्त्री (अल्पसंख्यक अपांगता) र सहमहामन्त्री (खसआर्य)को नतिजा आउन बाँकी छ । थारू क्लस्टरमा पूर्वसहमहामन्त्री योगेन्द्र चौधरी, खसआर्यमा मनोजमणि आचार्य र अल्पसंख्यकमा आङ्गेलु शेर्पाले अग्रता लिएका छन् ।
यस्तै, खुला ४५ केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक गरिएको छैन । खुलातर्फ ८९ उम्मेदवार मैदानमा थिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, सांसद निस्कल राई, बागमतीका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गोविन्द्रराज पोखरेल, जितनारायण श्रेष्ठ, मोहन आचार्य, प्रबल थापा, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ, विद्वान गुरुङ, शोभाकर पराजुली, अर्जुनप्रसाद जोशी, अमृत ज्ञवाली, सन्दीप राना, नवराज त्रिपाठी, नरेन्द्रकुमार केरुङ, भरतकुमार शाह, मिनकृष्ण महर्जन, बलदेव तिमल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय, कुमार लुइँटेल, ऋषि कोइराला, दीपकबाबु कँडेल, किरण केसीलगायत विजयी हुने सूचीमा छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये गगन थापा सभापतिमा दोहोरिएका छन् । विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा बढुवा भए । पुष्पा भुसाल उपसभापतिमै दोहोरिएकी छिन् । प्रदीप पौडेल महामन्त्रीमै दोहोरिँदा गुरुराज घिमिरे भने महामन्त्रीमा पराजित हुन पुगे । सहमहामन्त्री उदयशमशेर राणा र डा. डिला संग्रौला पन्त महामन्त्रीमा निर्वाचित भएकी छन् ।
कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्री कर्णबहादुर बुढा र मुक्ताकुमारी यादव बाहिरै छन् । तीनैजना उम्मेदवार बनेनन् । बहादुरसिंह लामा र प्रकाश रसाइली स्नेही सहमहामन्त्रीमै निर्वाचित भएका छन् । चौधरी सहमहामन्त्रीको उम्मेदवार बनेको मधेशी कोटाको मतगणना जारी छ ।
विशेष महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा समूह छाडेर जानेमा महिला उपसभापति पुष्पा भुसाल, समावेशी उपसभापति विनोद चौधरी, खुला महामन्त्री उदयशमशेर राणा, महिला महामन्त्री डा. डिला संग्रौला, सहमहामन्त्री आदिवासी जनजाति बहादुरसिंह लामा तामाङ छन् ।
देउवा समूह छाडेर आउनेमध्ये खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन् । भुसाल देउवा पक्ष छाडेर विशेष महाधिवेशनमै उपसभापति बनेकी थिइन् । विशेष महाधिवेशनको पक्षमा लाग्दा तत्कालीन महामन्त्रीद्वय गगन र विश्वप्रकाशसँगै कारबाहीमा परेका फरमुल्लाह मन्सुर भने समावेशी उपसभापतिमा पराजित भएका छन् । राणा र संग्रौला विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए ।
खुलातर्फ ३५ वर्षमुनिका सात युवा निर्वाचित
कांग्रेस केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिको युवा क्लस्टरबाट खुलातर्फ सातजना निर्वाचित भएका छन् । २७ जना प्रत्याशी रहेकामा सचिन तिमल्सेना, ई. अभिषेक आत्रेय, आदर्श मल्ल, डा. आयुष बगाले, ई. शैलेश मिश्र, ई. रोशन बस्नेत र सुशील भट्ट निर्वाचित भएका हुन् ।
तिमल्सेना तीन हजार १५६, भट्ट दुई हजार ७८३, मिश्र दुई हजार १३३, आत्रेय दुई हजार ८१३, मल्ल दुई हजार ५६०, बगाले दुई हजार ५७५ र बस्नेत दुई हजार २७१ मत ल्याएर निर्वाचित भए । कांग्रेसले ३५ वर्षमुनिका युवाबाट पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित गर्ने वैधानिक व्यवस्था गरेको हो । प्रत्येक प्रदेशबाट एक महिलासहित दुईजना निर्वाचित हुँदै छन् । प्रदेशगत रूपमा परिणाम आउने क्रम जारी छ । सुदूरपश्चिमबाट ३५ वर्षमुनिको एक महिलासहित दुईजनामा रिता शाही र ई. भुवनराज भट्ट निर्वाचित भए ।
खुला महिला केन्द्रीय सदस्यमा बासना थापा, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सिर्जना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापामगर, गंगा दाहाल, विनिता खड्का र उमा दाहाल निर्वाचित भए । पेसागत क्षेत्र खुलातर्फ पाँचजनामा डा. केदारनरसिंह केसी, प्रा.डा. जगदीशचन्द्र पोखरेल, डा. प्रदीप मिश्र, वरिष्ठ अधिवक्ता सीताराम केसी र शिक्षक संघका अध्यक्ष केशव निरौला निर्वाचित भएका छन् । पेसागत महिलातर्फ दुईजनामा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित भएका छन् ।
आदिवासी जनजातितर्फ २० जना केन्द्रीय समितिमा
आदिवासी खुलातर्फ १२ जनामा तीर्थ लामा, ई. अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्माछिरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा (शेर्पा), वंशलाल तामाङ, अमृत गुरुङ, सुशील गुरुङ निर्वाचित भएका छन् । आदिवासी जनजाति महिलातर्फ आठजनामा गीता गुरुङ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउचा, सपना राजभण्डारी जोशी, सीताकुमारी राना, प्रमिला राई, लीलादेवी बोखिम लिम्बू र पुनम लामा निर्वाचित भएका छन् ।
दलित खुला आठजनामा डा. डिबी सुनार, सागर परियार, हरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्मरबहादुर बराइली र दीपक सोनी निर्वाचित भएका छन् । महिलातर्फ पाँचजनामा सीता मिजार, शान्ति परियार विक, रूपा विक, कमला नेपाली र छायाँ सुनार र दलित मधेशी एकजनामा धर्मेन्द्र पासवान निर्वाचित भए ।
नेपाली जनसम्पर्क समितिबाट पाँच खुला र दुई महिला गरी सातजना निर्वाचित भए । दुई महिलामा सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी (चन्दा) निर्वाचित भए । युरोपबाट जितेन्द्रविक्रम शाही, ओसियाना–अमेरिकाबाट सिए विद्याभूषण कार्की, मध्यपूर्वबाट पुरुषोत्तम खनाल, प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठ र भारतबाट बालकृष्ण पाण्डे निर्वाचित भएका छन् ।
मुस्लिमतर्फ पाँचजना निर्वाचित
मुस्लिम खुलातर्फ तीनजनामा डा. अताबुल मन्सुरी, मो. इर्साद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन् । मुस्लिम महिला दुईजनामा जमिला खातुन र सनम वेगम निर्वाचित भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट खुला तीनजनामा जनक चटौत, दिवानसिंह विष्ट र बहादुरसिंह थापा निर्वाचित भएका छन् । महिला एकजनामा अम्बिकाकुमारी चलाउने निर्वाचित भएकी छिन् । ३५ वर्षमुनिको एक महिलासहित दुईजनामा रिता शाही र ई. भुवनराज भट्ट निर्वाचित भएका छन् । पिछडिएको क्षेत्र खुलातर्फ एकजनामा दीपकजंग शाह निर्वाचित भएका छन् । महिलातर्फ एकजनामा सुशीला बम निर्वाचित भएकी छिन् ।







प्रतिकृया दिनुहोस