• २०८३ कार्तिक ३ सोमबार
  • Monday, 19 October, 2026

दिपक भट्ट निकाल्न ३० करोडको सेटिङ, इनमको बयानपछि सुशील भट्ट पक्राउ

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा रहेका व्यवसायी दीपक भट्टलाई जेलबाट छुटाउन ३० करोड रुपैयाँको ‘सेटिङ’ मिलाउने विषयमा इनम सापकोटाले दिएको बयानका आधारमा लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।

प्रहरी हिरासतमा रहेका सापकोटाको बयान र उनीसँगको टेलिफोन सम्पर्क तथा सन्देशका आधारमा भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले जानकारी दिए। प्रहरीले भट्टमाथि संगठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

अनुसन्धानमा संलग्न प्रहरीका उच्च अधिकारीका अनुसार, सापकोटाको बयानमा सुशील भट्टमार्फत ३० करोड रुपैयाँको व्यवस्था गर्ने र अदालतमा ‘सेटिङ’ मिलाउने विषय उल्लेख छ। यही बयान र सापकोटासँगको सम्पर्कका आधारमा प्रहरीले भट्टको भूमिकाबारे अनुसन्धान अघि बढाएको हो। भट्टको पक्राउसँगै दीपक भट्टलाई थुनामुक्त गराउने प्रयासमा जोडिएका व्यक्ति, रकमको व्यवस्थापन र न्यायिक प्रक्रियामा प्रभाव पार्ने प्रयासबारे अनुसन्धान केन्द्रित भएको छ।

इनम सापकोटा पछिल्लो समय प्रभावशाली व्यक्ति, व्यवसायी तथा न्यायिक क्षेत्रसँग जोडिएको शंकास्पद सम्पर्क सञ्जालका कारण प्रहरी अनुसन्धानको केन्द्रमा छन्। उनको सम्पर्क, फोन संवाद र विभिन्न व्यक्तिसँगको सम्बन्धबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी घिमिरेका अनुसार सापकोटाको पोल-बयान र उनीसँगको सम्बन्धका आधारमै सुशील भट्ट पक्राउ परेका हुन्।

प्रहरीले अब उनीहरूबीचको सम्पर्कको प्रकृति, ३० करोड रुपैयाँको व्यवस्थापनसँग जोडिएको विषय र दीपक भट्टलाई थुनामुक्त गराउने प्रयासमा सुशील भट्टको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर