• २०८३ कार्तिक ११ मंगलबार
  • Tuesday, 27 October, 2026

आफ्नै दाजुको हत्या गरेर आफैं मलामी गएका भाई पक्राउ

एजेन्सी। पैतृक सम्पत्तिको बाँडफाँटमा आफूलाई भेदभाव गरिएको भन्दै पाकिस्तानमा एक व्यक्तिले आफ्नै दाइको हत्या गरेको खुलेको छ।

हत्या गरेपछि घटनाबारे अनभिज्ञ रहेको नाटक गरेका उनी दाइको अन्त्येष्टिमा समेत सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पाकिस्तानको पन्जाब प्रान्तस्थित गुजरातको एक गाउँमा भएको घटनामा मोहम्मद बिलालले आफ्ना दाइ मोहम्मद सुफियानको हत्या गरेको आरोप स्वीकार गरेका छन्।

बिबिसीका अनुसार बिलाललाई अदालतले तीन दिनका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ। घटना अक्टोबर १७ को दिउँसो सुरु भएको थियो।

स्थानीय प्रहरी अधिकारी फैसल शहजादका अनुसार साउदी अरेबियामा रहेको भनिएका बिलालले ह्वाट्सएपमार्फत दाइ सुफियानलाई फोन गरेर गुजरात सहर बोलाएका थिए।

उनले दाइलाई एक विशेष व्यक्तिसँग भेट गराउने भन्दै तत्काल आउन आग्रह गरेका थिए।

भाइको फोनपछि सुफियान मोटरसाइकल चढेर घरबाट निस्किए। भेट्ने स्थानमा पुगेपछि उनले बोलाउने व्यक्ति आफ्नै भाइ बिलाल भएको थाहा पाए।

त्यसपछि दुवैले सँगै खाना खाए र कुराकानी गरे। साँझ परेपछि उनीहरू मोटरसाइकलमा घर फर्किन थाले।

प्रहरीका अनुसार दरिकाडी रोडको सुनसान स्थानमा पुगेपछि बिलालले शौचालय जानुपर्ने बहाना बनाएर मोटरसाइकल रोक्न लगाए।

मोटरसाइकल रोकिएलगत्तै उनले सुफियानको घाँटीमा छुरा प्रहार गरे। त्यसपछि शव सडकछेउमा फालेर उनी फरार भए।

घटनालाई लुटपाटको रूप दिन बिलालले दाइको मोबाइल फोन र मोटरसाइकलसमेत लिएर गएको प्रहरीको भनाइ छ।

उनले मोटरसाइकल कोटलास्थित पन्जाब मोटर्सबाहिर पार्क गरेपछि लाहोरतर्फ भागेका थिए।

प्रहरीका अनुसार बिलाल साउदी अरेबियाबाट पाकिस्तान फर्किएको कुरा परिवारका सदस्यलाई थाहा थिएन।

सुफियानको हत्याको खबर परिवारसम्म पुगेपछि उनले घटनाबारे केही थाहा नभएको जस्तो व्यवहार गरेका थिए।

प्रहरी अधिकारी शहजादका अनुसार बिलालले दाइको अन्त्येष्टि गर्नुअघि आफू साउदी अरेबियाबाट फर्किने भन्दै परिवारलाई पर्खनसमेत आग्रह गरेका थिए।

तर, उनी साउदी अरेबियामा नभई पाकिस्तानमै रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

अक्टोबर १८ को बिहान गाउँ पुगेका बिलाल दाइको अन्त्येष्टिमा सहभागी भए।

प्रहरीका अनुसार उनले आफू भर्खरै साउदी अरेबियाबाट फर्किएको नाटक गरेका थिए, ताकि परिवार र गाउँलेले आफूमाथि शंका नगरून्।

सोधपुछका क्रममा बिलालले दाइको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

पैतृक सम्पत्तिको बाँडफाँटमा आफूलाई भेदभाव गरिएको भन्दै उनले हत्या गरेको बताएको समाचारमा उल्लेख छ।

अभियुक्तलाई न्यायिक मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। प्रहरीले उनको साथबाट बरामद मोटरसाइकल र मोबाइल फोनसहित घटनासँग सम्बन्धित अन्य पक्षमा अनुसन्धान जारी रहेको अदालतलाई जानकारी गराएको छ।

अदालतले बिलाललाई थप अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर