• २०८३ कार्तिक १६ सोमबार
  • Monday, 2 November, 2026

सरकारी कामप्रति विपक्षी आक्रामकः कांग्रेसले बाेलायाे संयुक्त बैठक

काठमाडौँ । नेपाली कांग्रेसले पत्रकार पक्राउ र न्यायालयसँग जोडिएका पछिल्ला घटनाक्रमको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। त्यसका लागि तत्काल संसद् बैठक बोलाउन पनि कांग्रेसले माग गरेको छ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकारलाई समाचार संकलन र प्रकाशन गरेकै आधारमा पक्राउ गर्ने तथा सञ्चारगृहभित्रै प्रहरी परिचालन गर्ने कार्य विधिको शासन र प्रेस स्वतन्त्रताविपरीत भएको निष्कर्ष निकालेको छ। बैठकपछि जारी विज्ञप्तिमा पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वेच्छाचारिता भएको उल्लेख छ।

कांग्रेसले पत्रकार धरपकडलगायत विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गरेको छ। त्यस्ता घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उसको माग छ।

न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्ने र सरकारका कामकारबाही कानुनी प्रक्रियाअनुसार हुनुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ। निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भए पनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको भन्दै कांग्रेसले सरकारका पछिल्ला गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि प्रश्न उठाएको जनाएको छ।

कांग्रेसले जनसरोकार र सुशासनका विषयमा सरकारलाई समर्थन गर्ने तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्तिपृथकीकरणका मूल्यमान्यताविपरीत सरकार अघि बढे विरोध गर्ने आफ्नो नीति रहेको पनि स्पष्ट पारेको छ।

संसदीय दलको बैठकपछि कांग्रेसले दिउँसो १ बजे विपक्षी दलहरूको बैठक बोलाएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूसँग बसेर पत्रकार धरपकड र न्यायालयसँग जोडिएका विषयमा थप छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने बताए।

पत्रकार पक्राउ र न्यायालयका विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता देखिएकाले संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग रहेको आङ्देम्बेले बताए। आचरणविपरीत काम गरेका न्यायाधीशमाथि महाभियोग लगाउने सन्दर्भमा सोधेको प्रश्नमा भने उनले सत्तारूढ दलको निर्णय पर्खिएको भनाइ राखे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर