• २०८३ कार्तिक १८ बुधबार
  • Wednesday, 4 November, 2026

रसेल चम्किएपछि जनकपुरविरुद्ध विराटनगरकाे नाटकीय जित

काठमाडाैं। वेस्ट इन्डिजका एन्ड्रे रसेलले अलराउन्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक विजय हात पारेको छ ।

रसेलले अर्धशतक बनाउनुका साथै ४ विकेट लिएपछि विराटनगरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सनसनीपूर्ण विजय हात पारेको हो । बंगलादेशी ब्याटर सैफ हसनले ७१ रन बनाए पनि १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुर ७ विकेट गुमाई १ सय ७२ रनमात्र बनाउन सक्यो ।

यस खेल जितेपछि कर्णाली याक्स र जनकपुरलाई उछिन्दै विराटनगर शीर्ष स्थानमा पुगेको छ । तीनै टोलीको समान ४ अंक भए पनि विराटनगर राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

विजयी लक्ष्य पछ्याउने क्रममा जनकपुरको सुरुआत राम्रो रहेन । तृतराज दासलाई एन्जेलो म्याथ्युजले ६ रनमा बोल्ड गरे । मोइन अली १४ बलमा १० रनमात्र बनाई आउट भए । पूर्व कप्तान अनिल साह दोस्रो बलमा खाता पनि नखोली आउट भए ।

त्यसपछि सैफ हसन र विशाल शुस्लिङले चौथो विकेटमा ७६ रनको साझेदारी गरे । विशाल ३० बलमा ४३ रन बनाई आउट भए । दुई चौका र ३ छक्का प्रहार गरेका उनी म्याथ्युजको बलमा बाउन्ड्री लाइनमा क्याच भए ।

हसनले जिम्मी निसमसँग ३० बलमा ५६ रनको साझेदारी गरे । निसम १९ औं ओभरको अन्तिम बलमा आउट भए । उनले १५ बल खेली ३ छक्का प्रहार गरी २७ रन बनाए । उनको स्थानमा आएका कप्तान हरमित सिंह पहिलो बलमै आउट भए ।

जनकपुरलाई अन्तिम ओभरमा विजयका लागि १३ रनको आवश्यकता थियो । तर जनकपुरले १० रनमात्र बनाउन सक्यो । इनिङ्सको अन्तिम बलमा आउट भएका हसनले ४८ बल खेली २ चौका र ५ छक्का प्रहार गरे । रसेलले ४ विकेट लिए । उनले सो क्रममा ४ ओभरमा ४५ रन खर्चे । त्यस्तै म्याथ्युजले ३ ओभरमा २५ रन खर्चेर २ र रुपेश सिंहले १ विकेट लिए ।

यसअघि लोकेश बम, इमरान शेख र एन्ड्रे रसेलले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ७४ रन बनाएको थियो । एनपीएल इतिहासमा पहिलो पटक एउटै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएका हुन् ।

लोकेश र इमरानले दोस्रो विकेटमा १ सय ७ रनको साझेदारी गरेपछि विराटनगरले चुनौतीपूर्ण लक्ष्य तेर्स्याएको थियो । पहिलो ओभरमै मोइनले सेहान जयसूर्यालाई १ रनमा स्टम्प आउट गराएपछि लोकेश र इमरानले मजबुत साझेदारी गरेका थिए । इमरान ४५ बलमा ५६ रन बनाई अभिषेक तिवारीको बलमा विकेटको पछाडि क्याच भए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

प्रतियोगितामा दोस्रो अर्धशतक बनाएका लोकेशले ४० बल खेली समान ३ चौका र छक्का प्रहार गरे । १४ औं ओभरमा ब्याटिङमा आएका रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जने ७ रनमा अविजित रहे । अभिषेकले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । त्यस्तै मोइनले १ विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर