• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

६ महिना अघि नै छुट्ने भए नक्कली भुटानी काण्डमा मुछिएका एमाले सचिव टाेपबहादुर

काठमाडाैं। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउँदो कात्तिक २६ गते थुनामुक्त हुने भएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागार कार्यालय डिल्लीबजारमा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले कात्तिक २६ गते रिहा गर्न आदेश दिएको हो।

कारागारका जेलर बिक्रम पाण्डेले उनलाई त्यसदिन रिहा गर्न भनेर सोमबार पत्र आएको बताए।

‘जेष्ठ नागरिक अन्तर्गत ६५ वर्षको सुविधा माग गर्दै उहाँले निवेदन दिनुभएको थियो। कारागारमा उहाँलाई कात्तिक २६ गते रिहा गर्न भनेर आदेश हिजो आइपुगेको थियो,’ उनले भने।

गत असार ३० गते जिल्ला अदालत काठमाडौंले रायमाझीलाई दोषी ठहर गर्दै चार वर्ष कैद सजाय तोकेको थियो। २०८० वैशाख ३१ देखि उनी थुनामा छन्।

यसैबीच अदालतले सजाय तोकेपछि उनले जेष्ठ नागरिकको सुविधा माग गर्दै निवेदन दिएका थिए।

गत शुक्रबार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले जेष्ठ नागरिकको सुविधा प्रदान गर्ने निर्णय गर्दै रिहा गर्न आदेश गरेको हो।

जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष उमेर पुगेर ७० वर्ष ननाघेको जेष्ठ नागरिकलाई २५ प्रतिशतसम्म छुट दिने उल्लेख छ। रायमाझी ठगी, राज्यविरूद्धको कसुर, संगठित अपराध कसुर गरेकोमा दोषी ठहर भएका थिए।

उनलाईलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना र एकीकृत कसुरतर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाइएको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर