• २०८३ कार्तिक २१ शनिबार
  • Saturday, 7 November, 2026

एनपीएलः सुदूरपश्चिम विरुद्ध कर्णाली तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज पनि दुई खेल हुँदैछन्। 

आजको पहिलो खेलमा उपाधिका दाबेदार दुई टोली सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल विहान साढे १२ बजे सुरु हुनेछ। 

समान ४-४ अंक जोडेका दुवै टोली प्रतियोगितामा आफ्नो बलियो पकड बनाउन मैदान उत्रिनेछन्। यसपटक उत्कृष्ट लयमा रहेको कर्णाली सुदूरपश्चिमलाई पहिलो पटक हराउने दाउमा छ। यता दुई पटकको फाइनलिस्ट सुदूरपश्चिमलाई अबको हारले पहिलो पटक प्लेअफ बाहिर पार्ने जोखिम बढ्ने छ।

कर्णाली याक्सले यस संस्करण उत्कृष्ट सुरुवात गर्दै आफ्ना सुरुवाती खेलमा प्रभावकारी प्रदर्शन गरेको छ। टोलीले पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध १९ रन र दोस्रो खेलमा विराटनगर किङ्सलाई ४ विकेटले हराएको थियो। , तेस्रो खेलमा भने काठमाडौँ गोर्खाजसँग ४ विकेटले हारेको कर्णाली सुदूरपश्चिमविरुद्ध पुनः जितको ट्र्याकमा फर्कन चाहन्छ। 

यस खेलमा दक्षिण अफ्रिकी विस्फोटक ब्याटर डेभिड मिलरको आगमनले कर्णालीको ब्याटिङ लाइनअप झनै खतरनाक बनेको छ।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सले यसपटक उतार चढावपूर्ण नतिजा सामना गरेको छ। पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध ७ विकेटले हारे पनि दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको शानदार पुनरागमन गर्दै जित निकाल्यो। 

त्यसपछि वर्षाका कारण प्रभावित खेलमा विराटनगरसँग ३५ रनले हारेको सुदूरपश्चिमलाई आफ्नो प्रदर्शनमा स्थिरता ल्याउनुपर्ने दबाब छ। तर, पछिल्लो समय चितवन राइनोजलाई ५ विकेटले हराउँदै टोलीले आफ्नो लय फर्किसकेको संकेत दिएको छ। ४ खेलबाट सुदूरपश्चिमले पनि ४ अंक नै जोडेको छ। 

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। साँझ ५ बजे सुरु हुने खेलमा ३ खेलमा ३ अंक जोडेको चितवन यो खेल जित्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा रहँदा जितविहीन पोखरा तालिकामा खाता खोल्न चाहन्छ।

अघिल्ला २ संस्करणजस्तै यस पटक पनि निराशाजनक प्रदर्शन जारी राखेको पोखरालाई अबका हारले फेरि एकपटक प्लेअफबाट बाहिरै राख्नेछ। यस्तोमा दबाबकाबीच यी दुईको भिडन्त रोचक बन्ने अपेक्षा गरिएको छ ।

जितबाट सुरु गरेको चितवन राइनोजले ३ खेलमा १ जित, १ हार र १ खेलमा अंक बाँडेको छ। विराटनगरलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको चितवनले दोस्रो खेलमा वर्षा बाधक बन्दा लुम्बिनीसँग अंक बाँड्यो। पछिल्लो खेलमा सुदूरपश्चिमसँग ५ विकेटले हारेको चितवनलाई पोखराको खराब लयको फाइदा उठाउँदै तालिकामा स्थान सुधार गर्ने अवसर छ।

पोखरा एभेन्जर्सका लागि जारी संस्करण चुनौतीपूर्ण छ। टोलीले अपेक्षानुसार नतिजा निकाल्न संघर्ष गरिरहेको छ। पोखराको मुख्य समस्या ब्याटिङमा देखिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर