• २०८३ कार्तिक २१ शनिबार
  • Saturday, 7 November, 2026

एनपीएलः पोखराको ४ खेलमा चारै हार, चितवन तेस्रो स्थानमा

काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा अहिलेसम्मका खेलमा पाेखरा एभेन्जर्स सबैभन्दा कमजाेर देखिएकाे छ । उसले हालसम्म खेलेका ४ खेलमा चारै वटामा हार खाएर शुन्य अंक बटुलेकाे छ ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनमा शुक्रबार पोखरा एजेन्जर्सलाई ३० रनले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । यो जितपछि चितवनको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

पोखराले भने लगातार चौथो खेल गुमाएको छ र शून्य अंकमा पुछारमा छ । उसको प्ले अफ सम्भावना पनि लगभग समाप्त भएको छ । जितका लागि १ सय ५२ रन पछ्याएको पोखरा १९ ओभरमा १ सय २१ रन बनाएर अलआउट भयो ।

अर्जुन कुमाल ४४ बलमा ४५ रन बनाएर आउट भएपछि पोखराको सम्भावना कमजोर बनेको थियो । खराव लयमा रहेका कुशल भुर्तेल फेरि एकपल्ट असफल रहे र उनले चार रन मात्र जोडे । यसै खेलबाट उनले टिमको कप्तानी पनि गुमाएका छन् ।

उनका स्थानमा चमिका करुनारत्नेले टिमको नेतृत्व सम्हालेका थिए । अर्का ओपनर युवराज सम्राले १४ बलमा १९ रन बनाए र डान मोस्लीको बलमा बोल्ड भए । समिरा समराविक्रम पनि चार रनमै आउट भए । चितवनका रिजन ढकालले चार र कमल ऐरीले तीन विकेट लिए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको चितवनले २० ओभरमा छ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । त्यसमा कप्तान सिकन्दर राजा र रवि बोपाराले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरे ।

राजाले १६ बलमा ३७ बनाए भने बोपाराले २८ बलमा ३५ रन जोडे । राजाले दुई चौका र चार छक्का प्रहार गरे । यस्तै बोपाराको ब्याटबाट तीन चौका र दुई छक्का निस्केको थियो । यसअघि अर्जुन साउदले डाविड मालनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे ।

तर उनीहरू लगातार आउट भए । अर्जुनले २७ बलमा ३१ रन र मालनले २८ बलमा २८ रन बनाए । मोस्ली पनि दुई रन मात्र बनाएर सस्तोमै आउट भए । कुशल मल्लको ब्याटबाट ११ रन मात्र सम्भव भयो । पोखराका बलरमध्ये करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले दुई दुई विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर