• २०८३ कार्तिक २६ बिहीबार
  • Thursday, 12 November, 2026

एनपीएलः लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टिम, कर्णाली अप्ठ्यारोमा

काठमाडौं । कप्तान परिवर्तन गरे पनि कर्णाली याक्सको नेपाल प्रिमियर लिग (एनपीएल) ३ को व्यथा उस्तै रहयो । सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गरे पनि टोली बिहीबार च्याम्पियन लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भयो ।  

कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको पृष्ठभुमिबाट लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो । 
तर टस जितेर ब्याटिङ रोजेको कर्णाली त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १९.२ मात्र टिक्न सक्यो । डार्सी शर्टले ४६ रन बनाएपछि लुम्बिनीले १६.४ ओभरमै पुरा गर्यो । कर्णालीको यो लगातार चौथो हार हो । ओपनर शर्टले ३४ बल खेली ६ चौका र १ छक्कासाथ ४६ रन बनाए ।

आसिफ शेख र कप्तान रोहित पौडेल १–१, सन्दीप जोरा ४ रनमै आउट भए । निरोशान डिकवेलाले १६ रन बनाए । उनले १३ बल खेली २ चौका प्रहार गरे । सामिम हुसैन ५ रनमै आउट भए । दीलिप नाथ २८ र रुबेन ट्रम्पलमन २ रन बनाई अविजित रहे । दीलिपले २७ बल खेली ४ चौका प्रहार गरे । कर्णालीका मार्क वाटले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै पवन सर्राफ र हुसैन तलातले १–१ विकेट लिए ।

यस जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

कप्तान मात्र होइन कर्णालीले ओपनिङ ब्याटिङमा पनि परिवर्तन गरेको थियो । तर प्रतियोगितामा पहिलो खेल खेलिरहेका दीपेन्द्र राउत चार बलमात्र टिक्न सके । उनलाई अभिशेष गौतमले बोल्ड गरिदिए । अर्का ओपनर आरिफुल इस्लाम र दीपक डुम्रे समान ४ रनमा आउट भए । अभिशेषले दीपकलाई पनि आउट गरेका थिए भने किशोर महतोको बलमा रोहितले सानदार क्याच लिएर आरिफुललाई पेभेलियन फर्काए ।

मिलर आफै चौथो नम्बरमा ब्याटिङ गर्न आए । तर उनी पनि लुम्बिनीको उत्कृष्ट फिल्डिङको शिकार भए । आफ्नो पहिलो ओभर लिएर आएका शेर मल्लले मिलरलाई ट्रम्पलमनबाट सानदार क्याच गराए ।  छैटौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले सर्वाधिक २८ रन बनाए । उनले १८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । शर्टको बलमा उनी पनि लङ अनमा आसिफ शेखबाट सुन्दर क्याचमा आउट भए । पवनलाई १२ रनमा शर्टले बोल्ड गरे । तलातले २४ रन बनाए । उनले २२ बल खेली २ चौका र १ छक्का प्रहार गरे ।

वाट २, गुलशन झा १३ र नन्दन यादव ३ रनमै आउट भए । अभिशेषले ४ ओभरमा २१, रोहितले ३ ओभरमा १२, शर्टले ४ ओभरमा १३ र किशोर महतोले २.२ ओभरमा ६ रन खर्चेर २–२ विकेट लिए । एक विकेट ट्रम्पलमनको नाममा रह्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर