मधेशमा विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज शनिबार दिउँसो १ः०० बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरेका छन्।

उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ। सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्।

उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा बुधबार औपचारिक पत्र पठाइसकेका छन्। विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल र संवादमा जुटेका छन्।

विश्वासको मतका विषयमा दलहरूसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताए। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले)का २३, जसपा‚ नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्। कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन थप ३२ सांसदको समर्थन आवश्यक छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर