सुनको भाउ एक वर्ष यताकै सस्तो किन भयो ?

काठमाडौं । केही समय अघिसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार नयाँ रेकर्ड बनाइरहेको थियो। आर्थिक अनिश्चितता र भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित थिए। विश्वका केन्द्रीय बैंकहरूले पनि सुन खरिद बढाइरहेका थिए।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षभन्दा बढी समयकै कम भएको छ। यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ।

सोमबार (नोभेम्बर १६) अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब एक प्रतिशत घटेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेपाली समय दिउँसो १२:२६ बजेसम्म सुनको भाउ प्रतिट्रोय औंस ३८४०.५२ अमेरिकी डलरमा आएको थियो। सोमबारकै कारोबारका क्रममा मूल्य सन् २०२५ अक्टोबरयताकै न्यून विन्दुमा पुगेको थियो।

अमेरिकी डलर बलियो हुनु, अमेरिकी सरकारी ऋणपत्रबाट पाइने प्रतिफल बढ्नु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने अपेक्षाले सुनको मूल्यमा दबाब परेको रोयटर्सले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि सुन सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रूपैयाँ तोकेको छ। आइतबार सुन २ लाख ७० हजार २०० रूपैयाँमा कारोबार भएको थियो।

यसअघि कात्तिक २० गते सुनको भाउ २ लाख ८३ हजार रूपैयाँ थियो। त्यसयता १० दिनमा सुनको मूल्य १३ हजार ९०० रूपैयाँ घटिसकेको छ।

गत वर्ष माघ १५ गते (जनवरी २९) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रूपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

त्यस बेलाको तुलनामा अहिले सुन प्रतितोला ७० हजार २०० रूपैयाँ अर्थात् करिब २०.७ प्रतिशत सस्तिएको छ। यो ठूलो गिरावटपछि स्वाभाविक प्रश्न उठ्छ— अब सुन अझै सस्तिन्छ कि फेरि महँगिन थाल्छ?

यसको जबाफ खोज्न अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुका कारण र आगामी दिनमा त्यसलाई प्रभाव पार्ने आर्थिक गतिविधि बुझ्नुपर्छ।

अहिलेको अन्तर्राष्ट्रिय बजारमा मूल्य घटाउने र बढाउन सहयोग गर्ने दुवै किसिमका आर्थिक पक्ष सक्रिय छन्। छोटो अवधिमा अमेरिकी डलर बलियो हुनु, सरकारी ऋणपत्रको उच्च प्रतिफल र ब्याजदर बढ्ने अपेक्षा सुनका लागि प्रतिकूल छन्।

यी अवस्था कायम रहे सुनको मूल्यमा थप दबाब पर्न सक्छ। दीर्घकालीन रूपमा सुनको मागलाई टेवा दिने आधार पनि छन्।

विश्वका केन्द्रीय बैंकहरूले सुन खरिद जारी राखेका छन्। सरकारी ऋणको बढ्दो भार, भूराजनीतिक तनाव र विश्व अर्थतन्त्रमा देखिने अनिश्चितताले पनि लगानीकर्तालाई सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित गर्न सक्छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर