• २०८३ मङ्सिर ४ शुक्रबार
  • Friday, 20 November, 2026

एमालेको झण्डामुनी पूर्वराष्ट्रपति भण्डारीको सम्बोधनः हारबाट पाठ सिक्दै स्थानीय चुनावमा लागाैं

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले बेहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्। 

एघार वर्षपछि पार्टी राजनीतिमा फर्किएकी उनले एमालेको राष्ट्रिय भेलामा गरेको यो पहिलो राजनीतिक सम्बोधन हो।

राष्ट्रिय भेलाको दोस्रो दिन नेता भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरिन्।

‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन, उनले भनिन्।

गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा धक्का बेहोर्नुपरे पनि आगामी चुनावमा त्यसको जवाफ दिइनुपर्ने बताइन्।

‘निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन्।

भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे प्रस्ट पार्दै आफू व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई मातृ पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको दाबी गरिन्।‍

मुलुकमा शान्ति सुरक्षा चिन्ता जनाउने अवस्थामा पुगेको उनको भनाइ छ।

‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव पर्दा देशको अन्तर्राष्ट्रिय छविमा आँच आउन थालेको छ, समयमै यसको निराकरण नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्छ,’  उनले थपिन्।

पार्टी शुद्धीकरण, जनसंगठन र जलवायु न्याय जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी दैनिक व्यवहार, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा उतार्नुपर्ने धारणा भण्डारीले गरिन्।

आवश्यकताभन्दा मागका आधारमा कमिटीहरूलाई ठुलो र भद्दा बनाउने प्रवृत्ति अन्त्य गरी कमिटीलाई मानार्थ नभई कार्यकारी बनाउन, आलोचना र आत्मालोचनाको पद्धति अपनाउन तथा सादगी जीवनशैली अवलम्बन गर्न पनि उनले नेताकार्यकर्तालाई निर्देशन दिइन्।

भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता भण्डारीले भनिन्, ‘हालै सम्पन्न निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर धक्काको सम्बन्धमा पार्टीले व्यापक छलफल र समीक्षासमेत गरिसकेको छ । समीक्षाबाट निकालिएका निष्कर्षहरूलाई नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहमा इमानदारीपूर्वक व्यवहारमा कार्यान्वयन गरिनुपर्दछ । एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन, तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’

राजनीतिमा थकाइ र विश्राम भन्ने नहुने बताउँदै उनले आफू कुनै पदप्राप्तिका लागि राजनीतिमा सक्रिय नभएको स्पष्ट पारिन् । कम्युनिस्ट आन्दोलन र नेकपा (एमाले) लाई बलियो शक्तिका रूपमा विकास गर्न आफू सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ छ ।
यसैबिच, वरिष्ठ नेता भण्डारीले सरकारका गतिविधिहरू निरङ्कुश, स्वेच्छाचारी, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाएकी छन् । सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको टिप्पणी गर्दै उनले निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य नहुने चेतावनी दिइन् । संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रिन तयार रहेको उनको भनाइ छ ।

राजनीतिक असहमतिका आधारमा सरकारले व्यक्ति तथा सञ्चारमाध्यमलाई निशाना बनाएको आरोप लगाउँदै भण्डारीले कानुनलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुने बताइन् । कानुन उल्लङ्घन भएको अवस्थामा निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्नेमा उनले जोड दिइन् । स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक प्रतिस्पर्धा र प्रतिपक्षको भूमिकाको सम्मानबिना लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै उनले सरकारलाई संवाद, सहकार्य र राष्ट्रिय सहमतिको बाटो अपनाउन आग्रह गरिन् ।

उनले भनिन्, ‘लोकतान्त्रिक व्यवस्थामा संसद्, संसदीय प्रक्रिया, प्रतिपक्षको भूमिका तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र मर्यादाको सम्मान हुनुपर्दछ । राज्यका अङ्ग तथा निकायहरू संविधानभन्दा माथि हुन सक्दैनन् । कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने, राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाएर प्रहरी नियन्त्रणमा लिने वा सञ्चारमाध्यमको स्वतन्त्रता सङ्कुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार अनुकूल हुन सक्दैन ।’

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचको शक्ति सन्तुलनमाथि गम्भीर प्रश्न उठाएको भण्डारीको ठहर छ । समयमै यस्ता विषयको निराकरण नगरिए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने चेतावनी दिँदै उनले सानातिना मतभेद थाती राखेर संवाद र सहकार्यको पहलकदमी लिन सम्पूर्ण राजनीतिक दल तथा देशभक्त शक्तिहरूलाई आह्वान गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर