• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

विदेश भ्रमणका कुन कुन परम्परा तोडे बालेनले ? 

काठमाडौं । स्थापित कैयौँ परम्परा तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणमा आइतबार अपराह्न नयाँदिल्ली पुगेका छन् । भ्रमणका कार्यसूची र उपलब्धि के होला भन्ने चासोसँगै प्रधानमन्त्रीले तोडेका अभ्यास र अपनाएको शैली पनि उत्तिकै चर्चामा छन् । 

दुई मन्त्री र प्रमुख सल्लाहकारसहित ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली पुगेका छन् ।

तर, छिमेकी मुलुकको भ्रमणअघि राष्ट्रपतिसँग भेटेर शिष्टाचार परामर्श गर्ने, संसद् र प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने र कूटनीतिज्ञहरूबाट सुझाव लिने स्थापित परम्परा र अभ्यासमा चासो राखेनन् । 

यस्तै, राष्ट्रिय परामर्श, औपचारिक बिदाइ र सैनिक सम्मानविनै आफ्नै रोजाइको ‘ब्ल्याक ड्रेस’ कोडमा नयाँदिल्ली पुगेका प्रधानमन्त्रीको व्यवहार र शैलीमाथि पक्ष–विपक्षमा टिप्पणी भइरहेका छन् । प्रधानमन्त्रीको बिदाइमा उनकै रोजाइमा सडकजाम र तामझाम थिएन ।

कूटनीतिक मामिलाका जानकारले प्रधानमन्त्रीले तोडेको परम्परा र अभ्यासमाथि ठोस प्रतिक्रिया दिन रुचाएका छैनन् । ‘एक–दुई दिनपछि नतिजा आउला, के–के भइरहेको छ भन्ने सञ्चारमाध्यमबाटै हेरिरहेका छौँ–पढिरहेका छौँ । अहिले नै प्रतिक्रिया दिन हतारो होला,’ भारतका लागि नेपालका पूर्वराजदूतसमेत रहेका कूटनीतिज्ञ डा. भेषबहादुर थापाले भने, ‘भ्रमण पूरा हुन त दिनुस्, नबुझीकन गाह्रो हुन्छ, अहिलेलाई दर्शक भएरै हेरौँ ।’

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय हितलाई बलियो बनाउनका लागि आवश्यक गृहकार्य र परामर्श गरेर मात्र गरिने स्थापित मान्यता नै खण्डित हुने गरी प्रधानमन्त्रीको भ्रमण भएकोमा असन्तुष्टि जनाएका छन् ।

‘प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र होइन, सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रिय हितका विषयमा जति व्यापक परामर्श र साझा समझदारी निर्माण हुन्छ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान त्यति नै बलियो हुन्छ, तर दुर्भाग्यवश यो गहिरो वास्तविकता सरकारले आत्मसात् गर्न सकेन,’ शर्माले भनेका छन्, ‘यद्यपि, सरकारको यस कमजोरीलाई हामी प्रधानमन्त्रीको भ्रमणको सम्भावित विषयवस्तुसँग जोडेर हेर्न चाहँदैनौँ । सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ ।’ 

उनले सल्लाह नगरिएकै कारण पार्टीले विज्ञहरूसँग परामर्श गरेर आवश्यक तयारी गरे पनि सरकारलाई सुझाव दिन उचित नठानेकोसमेत विज्ञप्तिमा प्रस्ट्याएका छन् ।

‘प्रधानमन्त्रीको भ्रमणलाई सकारात्मक बल पुर्याउने हाम्रो योजना र तत्परता थियो । तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल एवं विषयविज्ञहरूसँग परामर्श गर्न आवश्यक ठानेन,’ विज्ञप्तिमा छ, ‘राष्ट्रिय महत्वको भ्रमणअघि राष्ट्रको साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिनसमेत आवश्यक ठानेन । त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन ।’

यस्तै मान्यताहरू भत्काएकोप्रति एमाले नेता विष्णु रिजालले पनि असन्तुष्टि जनाएका छन् । ‘भ्रमणपूर्व राष्ट्रपतिदेखि संसद्मा रहेका दलहरूसँग कसैसँग पनि कुनै छलफल र परामर्श भएन ।

कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिले ठुलो महत्व राख्दछ । देशभित्र संसद्मा रहेका दलहरूसँग समेत कुनै परामर्श नगरी भारतसँग एकल र छुट्टै के गर्न लाग्नुभएको हो ?’ एमाले नेता तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका कूटनीतिक मामिलाका जानकार रिजालले प्रश्न उठाएका छन्, ‘भारतमा लाखौँ नेपाली नागरिक छन्, तिनका धेरै संस्था क्रियाशील छन् ।

नेपालका प्रधानमन्त्री भारत पुग्दा नेपाली दूतावासमा उनीहरूसँग प्रतिनिधिमूलक भेट गर्ने र आश्वस्त पार्ने काम गर्दा प्रधानमन्त्रीलाई के आपत् आइलाग्दोरहेछ ?’

देशभित्र छलफलविनै गएका प्रधानमन्त्रीले त्यहाँ कुनै सहमतिपत्र या सम्झौतापत्रमा हस्ताक्षर गर्दा थप विवाद सिर्जना गर्न सक्ने रिजालको भनाइ छ । उनको थप प्रश्न छ, ‘आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्ने, दोहोरो संवाद गर्न नसक्ने प्रधानमन्त्रीज्यूको कुनै व्यक्तिगत समस्या हो कि नेपाल सरकारको नीति नै हो ?’

प्रधानमन्त्रीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा सुरक्षा प्रोटोकलको उल्लंघन भएको छ । कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङ तथा रास्वपाका प्रवक्ता जगदीश खरेलले उनलाई बिदाइ गर्दा सुरक्षा प्रोटोकलको गम्भीर उल्लंघन गरेका हुन् ।

विमानस्थलको प्रवेश निषेधित क्षेत्रमा विमानछेउमा र्याम्प ज्याकेटविनै उनीहरू पुगेर बिदाइ गरेका थिए । सामान्यतया त्यस क्षेत्रमा सुरक्षा प्रोटोकल पूरा गरेर विमानस्थलका प्राविधिक र कर्मचारीहरूमा मात्र जाने गर्दछन् । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर