अपदास्त आईजीपी कार्कीले पाउलान् न्याय ? न्यायाधीश पाैडेल र निराैलाकाे इजलासमा
काठमाडौं । आफुलाई नेपाल प्रहरीकाे प्रमुखकाे पदबाट अपदस्त गरेर अन्याय गरेकाे भन्दै सर्वाेच्च अदालतकाे ढाेका ढक्काउन पुगेका दानबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ।
आज बुधबार न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो।
कार्कीले दायर गरेको रिटमा यसअघि अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा छलफलका लागि पेसी तोकिए पनि विपक्षीमध्येका हालका आइजिपी डा. मनोजकुमार केसीका नाममा जारी म्याद तामेल हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि मंसिर ८ गतेको पेसी तोकेको थियो। तर, केसीका नाममा पठाइएको म्याद कार्यालयले बुझ्न अस्वीकार गरेपछि अन्तरिम आदेशबारे छलफल हुन सकेन।
म्याद बुझाउन जाँदा केसी कार्यालयमा उपस्थित नभएको र कार्यालयले समेत पत्र बुझ्न अस्वीकार गरेको भन्दै म्याद तामेल हुन नसकेको प्रतिवेदन सर्वोच्चमा पेस भएको थियो। त्यसपछि अदालतको प्रशासनले ह्वाट्सएपमार्फत केसीलाई सूचना पठाएको थियो। तर, त्यसरी पठाइएको सूचनालाई आधिकारिक मान्न नसकिने भन्दै इजलासले पुनः म्याद बुझाउन आदेश दिएको थियो।
सोमबारको इजलासले उक्त रिट छिटो टुंग्याउनुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै प्राथमिकताका साथ सुनुवाइका लागि आजको पेसी तोकेको थियो।
यसअघि मंसिर २ गतेकै इजलासले कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने र मनोजकुमार केसीलाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि तथा अन्य सम्बन्धित कागजात पेस गर्न आदेश दिएको थियो। साथै, सरकारका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश जारी गरेको थियो।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त बैठकले मनोजकुमार केसीलाई नयाँ आइजिपी नियुक्त गर्ने निर्णयसमेत गरेको थियो।
रिटको प्रारम्भिक सुनुवाइका क्रममा कार्कीका पक्षबाट अधिवक्ताहरू टीकाबहादुर कुँवर, माधव बस्नेत तथा वरिष्ठ अधिवक्ताहरू सतीशकृष्ण खरेल, बद्रीबहादुर कार्की, दिनमणि पोखरेल, पूर्णमान शाक्य र राधेश्याम अधिकारीलगायतले बहस गरेका थिए।
उनीहरूले प्रहरी नियमावलीमा महानिरीक्षकको पदावधि चार वर्ष तोकिएको अवस्थामा सरकारले जिम्मेवारी हेरफेरका नाममा कार्कीलाई पदबाट हटाउन नमिल्ने तर्क गरेका थिए। प्रहरी नियमावलीमा महानिरीक्षकको अनिवार्य अवकाशको उमेर ५८ वर्ष, सेवा अवधि ३० वर्ष र पदावधि चार वर्ष तोकिएको छ। नियमावलीमा उल्लिखित व्यवस्थाबाहेक अन्य आधारमा महानिरीक्षकलाई पदबाट हटाउन नमिल्ने जिकिर उनीहरूको थियो।



2026-11-25-01-23-02.jpeg)



प्रतिकृया दिनुहोस