• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मन्त्री दुलालका कामले युवालाई झक्झकाउने सन्देश दिईरहेको छ

लकडाउनमा समय बिताउन असहज भइरहेको युवाहरुको मतलाई करेसाबारीमा गरिएको तरकारी खेती वा वर्षौंदेखि बाँझो रहेका जमीनमा खेती गर्नका लागि मन्त्री दुलालको प्रयास सन्देशमुलक छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि ११ चैत्रमा सरकारले लकडाउन घोषणा गर्यो । लकडाउन घोषणा भएको चौंथो दिन अर्थात् १५ चैत शनिबार दिउँसो ३ बजे बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ आफ्नो करेसाबारीमा व्यस्त थिए ।

पूर्व लडाकु पृष्ठभूमीबाट आएका मन्त्री दुलाले हेर्दै स्वस्थ देखिन्छन । लामो समय तात्कालिन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाका जिम्मा लिएका उनले श्रम र स्वास्थ कसरी हुने भन्नेमा अन्य राजनीतिककर्मी भन्दा भिन्न मत राख्छन् ।

र, उनको बुझाई फरक छ ।  

‘लकडाउन के हो ?’ यसको अन्यौल सर्वसाधरणमा थियो । र, महामारीको रुप र लकडाउनले कुन आकार लिन्छ भन्ने कसैले अनुमान लगाएको थिएन । त्यो दिन भेट्दा उनको निधारबाट पसिना आइरहेको थियो । पसिना के हो ? उनले बुझेका छन्, उनलाई पसिना पुछ्ने हेक्का थिएन । मज्जाले बारी खनिरहेका थिए ।

‘मन्त्रीज्यूले लकडाउनको समय उपयोग गर्नुभएको होला’ भन्ने अनुमान लगाएका थिएऔं । परिवारका सदस्यलाई जिज्ञासा राख्यौं । तर, मन्त्री दुलालको केही फुर्सद हुँदासाथ करेसाबारीमा काम गर्ने बानी नै रहेछ ।

युवा जोश बोकेका मन्त्री दुलालले आफू यसअघि पनि फुर्सद मिल्नेबित्तिकै तरकारीबारीमा जाने गरेका रहेछन् । उक्त दिन पनि प्रदेशभरी कोरोना नियन्त्रण र रोकथामका लागि चाल्नु पर्ने आवश्यक कदमहरुको निर्देशन दिएर मन्त्री दुलाल दिउँसो करेसाबारी प्रवेश गरेका रहेछन् ।

परिवारका सदस्यका अनुसार त्यो दिन पनि बेलुकी ८ बजेसम्म उनीसहित परिवारका सदस्य, चालक, सुरक्षाकर्मी लगायतका सचिवालय सदस्यहरुले तरकारी गोड्ने, दन्ने, नयाँ रोप्ने र फोहोर जम्मा गरेर नष्ट गर्नेमा व्यस्त थिए ।

.............
फरक मत

मन्त्री दुलाल करेसाबारीमा व्यस्त भएकोमा ‘मन्त्री नै करेसाबारी’ मा व्यस्त भएपछि सरकारी काम कस्ले गर्ने ? वा मन्त्रीले काम गर्नै नहुने हो र ? भन्नेजस्ता टिप्पणी हुनु यो हाम्रो सामाजिक मूल्य मान्यता हो । तर, यसमा मन्त्री दुलालको भने फरक मत छ ।

उनी भन्छन्, ‘मन्त्री हुँदैमा बारी खन्न नै हुन्न भन्ने होइन् । फुर्सदको समय सदुपयोग गरेर हामीले आफूलाई स्वस्थ राख्न र स्वस्थवर्दक खानेकुराका लागि करेसाबारीमा पसिना चुहाउनुपर्छ ।’

दिउँसो आफ्ना कामहरु सकेर निवास पुग्नेबित्तिकै करेसाबारीमा उनको नजर पुगिहाल्छ । सरकारले गरेको बन्दाबन्दी पछिल्ला केही दिनयता खुकुलो भएको छ । त्यसयताको समयमा ठूलो युवापंक्ति बेरोजगार नै बस्यो । लकडाउनको सामाजिक सञ्जालदेखि इन्टरनेट युवाको जमात भेटियो । तर, करेसाबारीमा कमै युवाहरु देखिए । देखिएका थिए त, मात्रै सामाजिक सञ्जालमा रमाउनका लागि । 

............
जसको कामले प्रेरणा मिल्छ

समयलाई निकै इमान्दारीतापूर्वक पालना गर्नुपर्छ भन्ने पहिचान बनाएका मन्त्री दुलालले आफ्नो समयको सदुपयोग गरेर नै अहिले आफ्नो करेसाबारी हरियाली बनाएका छन् । आफूले मात्र होइन, उनी हेटौंडास्थित सिमेन्ट कारखानाका अन्य मन्त्री निवास हरियाली हुनुको ‘प्रेरणा’का स्रोत पनि हुन । 

मन्त्रालयको जिम्मेवारी सम्हालेर निवास जिम्मा लिंदै गर्दा त्यहाँको अवस्था निकै दयनीय थियो । पहिलो प्राथमिकतामा नै आफू बसेको क्षेत्र सरसफाई गरेर सकारात्मक सन्देश दिएका मन्त्री दुलालले करेसाबारी हरियाली बनाउन अरुलाई समेत उत्पे्ररित गरिरहेको सचिवालयका सदस्यहरु बताउँछन् । 

युवापंक्तिका लागि उदाहरणको रुपमा प्रस्तुत हुँदै आएका मन्त्री दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रदेशसभा निर्वाचित जनप्रतिनिधि हुन । विश्व नै आतकिंत बनिरहेको कोभिड–१९बाट बच्नका लागि कुनै औषधी पत्ता नलागिरहँदा कम्तिमा करेसाबारीमा काम गर्दा रोग प्रतिरोधी क्षमताको वृद्धि गर्न सघाउ पुग्ने उनको भनाई छ ।

...............
शुभचिन्तकको माया

कोभिड–१९ रोगको कारण विश्व आक्रान्त बनिरहेको बेलामा प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका दुलालले करेसाबारी हरियाली बनाए । जताततै अब के गर्ने भन्ने सवाल उठिरहेको बेलामा मन्त्री दुलाल एक गतिलो उदाहरण प्रस्तुत भएको शुभचिन्तकहरुको भनाई छ । 

अहिले करेसाबारीमा गोलेभेँडा, फर्सी, लौका, काँक्रो, स्कुस, बोडी, चिप्लेभेँडी, साग, मकै, करेला, काउली, खुर्सानी, भेन्टा, लसुन, प्याज, मुला धनियाँ लगायतका अन्य तरकारीहरु फलिरहेका छन् । कुनै फल्ने क्रममा छन् । केही भर्खरै रोपिएका छन् ।

‘यहाँको जग्गा पूरै बाँझो भएकाले सुरुमा खन्नका लागि निकै मुस्किल भएको थियो’, मन्त्री दुलाल आफ्नो अनुभव सुनाउँछन्– ‘हरेक राम्रो काम आफूबाटै सुरु हुनुपर्छ । वरिपरि बाँझो बसेको जमीनलाई सफा गरेर खनजोत गरियो । अहिले आफैं अर्गानिक तरकारी उत्पादन गरेर खाने गरिएको छ ।’

...........
फरक सोंच

पदले जो–कोही पनि सानो ठूलो नहुने भन्दै मन्त्रीले खेतबारीमा कामै गर्न नहुने भन्ने सोंचबाट निकै टाढा रहन चाहन्छन् उनी । ‘पदले कुनैपनि काम सानो ठूलो हुँदैन । अनि, मन्त्रीले खन्न हुँदैन अरुलाई लगाउनु पर्छ र आफूले खानुपर्छ भन्ने सोंचाई मेरो छैन, म त हरेक प्रकारको काम अरुलाई लगाउने भन्दा पनि आफैं शुरुवात गर्न पाए हुन्थ्यो भन्ने मान्यता राख्छु’, उनले भने ।

लकडाउनमा अलपत्र परेकाहरुको उद्धारका लागि प्रदेश सरकार चुक्यो भन्नेजस्ता जनगुनासाहरु बढेका छन् । मन्त्री दुलाल भन्छन्– ‘हामी अत्यन्त जिम्मेवारीका साथ लागेका छौं । राहत अलपत्र परेका मानिसहरुलाई उद्धार लगायतका कामहरुका लागि स्थानीय सरकारलाई बजेट पठाएका छौं ।’

समस्यामा परेकाहरुलाई स्थानीय सरकारसँग समन्वय गर्नका लागि उनको अपील छ । ‘मेरो आग्रह लकडाउन हाम्रो लागि हो भनेर बुझ्नु पर्यो र यो समयलाई उत्पादनमुलक बनाउन सकिन्छ हाम्रो समयलाई त्यतातिर खर्च गर्न सक्यौं भने राम्रो हुन्छ । त्यही भएर म पनि फुर्सदको बाँकी समय करेसाबारीमा बिताउँछु ।’

उनले भने– ‘जसको कारण तरकारी किन्न सधैं बजार जानु परेन । अर्गानिक खान पाइयो । यो सानो कुरा होला तर यही तरिकाले यति मात्र काम गर्यो भने पनि यसले ठूलो अर्थ राख्छ भन्ने लाग्दछ ।’

लकडाउनमा समय बिताउन असहज भइरहेको युवाहरुको मतलाई करेसाबारीमा गरिएको तरकारी खेती वा वर्षौंदेखि बाँझो रहेका जमीनमा खेती गर्नका लागि मन्त्री दुलालको प्रयास सन्देशमुलक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर