जन्तरमन्तरमा चर्कियो प्रदर्शन, कक्रोच पार्टीका दिपके सडकमा पुग्नै पाएनन्
काठमाडौं । भारतमा कक्रोच जनता पार्टी सिजेपीको सडक प्रदर्शन सर्किएको छ । सीजेपीले अभिजीत दीपके, सौरव दास र आशुतोष रांकालाई प्रहरीले हिरासतमा लिएको छ ।
सीजेपीले वक्तव्य जारी गर्दै शनिबार दिल्लीमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।
सीजेपीका अनुसार तीनै जना नेता मुम्बईबाट दिल्ली आएका थिए । त्यसै क्रममा अभिजीत दीपके सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणमा आएका थिए ।
त्यसपछि उनीहरूलाई हिरासतमा लिइएको पार्टीको दाबी छ । दिल्ली प्रहरीको कदमलाई सीजेपीले ‘तानाशाहीपूर्ण’ भन्दै तीनै जना नेताको तत्काल बिनासर्त रिहाइको माग गरेको छ । ‘यो कारबाही मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन हो,’ सीजेपीले भनेको छ ।
दिल्लीको व्यापारिक क्षेत्रमा प्रहरीले केही दर्जन युवालाई लखेटेर नियन्त्रणमा लिएको दृश्य टेलिभिजनमा देखिएको थियो।
प्रहरीले उनीहरूलाई गाडीमा राखेर लगेको थियो। दिल्ली प्रवेश गर्ने नाकाहरूमा बस चढेर यात्रुहरूको जाँच भइरहेको र सडकमा गाडी रोक्दै सुरक्षा जाँच गरिएको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रदर्शनकारीहरूले बिहान १० बजे जन्तरमन्तरमा भेला हुने योजना बनाएका थिए। प्रहरीले भने प्रदर्शनका लागि अनुमति नदिएको जनाएको छ।
आयोजकहरूले प्रदर्शनलाई आफ्नो मौलिक अधिकार भन्दै रोकिए पनि अघि बढ्ने बताएका छन्।
दिल्लीमा ४० हजारभन्दा बढी सुरक्षाकर्मी
हिन्दुस्तान टाइम्सका अनुसार दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र प्रहरी बलका ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
जन्तरमन्तर पुग्ने सडकमा ब्यारिकेटहरू राखिएका छन् भने केही प्रवेश तथा निकास बिन्दुमा भेला, जुलुस र सडक अवरुद्ध गर्न निषेध गरिएको सूचना माइकबाट हिन्दी र अंग्रेजीमा सुनाइएको छ।
प्रदर्शनका कारण सार्वजनिक यातायातमा समेत असर परेको छ।
इन्डियन एक्सप्रेसका अनुसार दिल्ली मेट्रोका ४५ वटा स्टेसनका प्रवेश र निकासद्वार बन्द गरिएका छन्।
नयाँदिल्ली र हजरत निजामुद्दिन स्टेसनमा बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म आइपुग्ने गरी निर्धारित मेल तथा एक्सप्रेस रेल पनि रद्द गरिएको छ।
प्रदर्शनस्थलमा पहुँचसमेत सीमित गरिएको छ।
जन्तरमन्तर आसपास प्रहरीले शंकास्पद ठानेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ।







प्रतिकृया दिनुहोस