• २०८३ कार्तिक १८ बुधबार
  • Wednesday, 4 November, 2026

काठमाडौं आईपुगे विदेश सचिव मिश्री

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् । 

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बुधबार नै परराष्ट्र सचिव राईसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । कार्यबाहक दिवाभोजसहित हुने वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्तामा भारतसँग नेपालले प्रस्ताव गरेको आर्थिक प्याकेज, प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाको समीक्षा तथा सहकार्यका नयाँ क्षेत्रबारे छलफल हुने बताइएको छ ।

मिस्रीले बुधबार नै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेट गर्ने कार्यक्रम छ । बिहीबार प्रधानमन्त्री शाहसँग भेट गरेपछि उनी नयाँदिल्ली फर्कने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।

प्रधानमन्त्री शाहसँगको भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि पठाएको निमन्त्रणासमेत हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेका बेला मिस्री नेपाल आउन लागेका हुन् । शाहको भारत भ्रमण यसै महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ । दुवै देशले आन्तरिक तयारी अघि बढाए पनि भ्रमणको मिति भने औपचारिक रूपमा सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री शाह पदभार सम्हालेपछि भारतको पहिलो द्विपक्षीय भ्रमणमा आएका मिस्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर