• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

प्रधानमन्त्री बालेन र माेदीबीच के के भयाे समझदारी ?

काठमाडाैं । नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन भारतले २ खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ ।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् । उक्त सहयोगले प्रभावित परिवारको जीवन सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न तथा भविष्यमा विपद् सामना गर्ने नेपालको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको निकटतामा आधारित रहेको बताए । भगवान् राम र माता सीतालाई दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीकका रूपमा उल्लेख गर्दै उद्दले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

आजदेखि सुरु गरिएको ‘सरयू–कमला’ रेल सेवाले अयोध्या आउने श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न सहज हुने उनले बताए । साथै, लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध तथा शिवशक्तिसँग सम्बन्धित पवित्र स्थलबीच सम्पर्क विस्तार गर्न सहकार्य गरिने भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए ।

यसैगरी, उत्तराखण्ड र नेपालबीच धारचुला सडक पुलको उद्घाटन तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ । नेपालतर्फ दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइने उनको भनाइ थियो ।

यी परियोजनाले नेपाल र भारतबीच व्यापार तथा आवतजावत सहज बनाउने उल्लेख गर्दै उहाँले बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्क विस्तारका परियोजनालाई गति दिइने बताए । नेपालको पारवहन व्यापार सहज बनाउन काङ्गडा र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

नेपालका नदीमा स्वच्छ ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले त्यसको उपयोगबाट नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन भारतको ऊर्जा बजार सहयोगी बन्न सक्ने बताए ।

तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता यसै प्रयासको हिस्सा रहेको उनको भनाइ थियो ।

भारतले नेपाललाई पेट्रोलियम पदार्थ तथा अन्य आवश्यक वस्तुको विश्वसनीय आपूर्तिकर्ताका रूपमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले आपूर्तिमा चुनौती हुँदासमेत नेपालमा इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति कायम राखिएको बताए ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापामा पेट्रोलियम पदार्थ भण्डारण केन्द्रको शिलान्यासले दुई देशबीचको आपूर्ति साझेदारी थप सुदृढ हुने मोदीको भनाइ थियो ।

नेपालको युवा पुस्तामा प्रतिभा, ऊर्जा र ठूला सपना रहेको उल्लेख गर्दै उनले ती आकाङ्क्षा पूरा गर्न भारत सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । यसका लागि नेपालमा नयाँ उद्यम प्रवर्धन केन्द्र, नवप्रवर्तन केन्द्र तथा भारतीय प्राविधिक संस्थानको बाह्य परिसर स्थापना गरिने उनले जानकारी दिए ।

नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य, भूउपग्रह सञ्चार र सहरी विकासलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो ।

समझदारीपत्रमध्ये एउटा गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी छ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि समझदारी भएको छ ।

नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि समझदारी भएको छ । यसमा भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभाग र नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान सहभागी छन् ।

अन्य समझदारी आयुर्वेद तथा परम्परागत चिकित्सा प्रणाली, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा रहेका छन् ।

नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ ।

यी आठवटै समझदारीले विभिन्न क्षेत्रमा नेपाल र भारतबीचको द्विपक्षीय सहकार्य र संस्थागत साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्य राखेका छन् ।

यसअघि प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा नेपालतर्फ दार्चुला र भारततर्फ धार्चुला जोड्ने मोटर चल्ने पुल तथा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको उद्घाटन गरेका थिए ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित भर्चुअल समारोहमा दुई नेताले तीनवटा परियोजनाको शिलान्यास पनि गरेका थिए । शिलान्यास गरिएका परियोजनामा भारतको उत्तराखण्डस्थित बनबासामा एकीकृत जाँच चौकी, झापामा ग्रिनफिल्ड पेट्रोलियम भण्डारण केन्द्र र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना छन् ।

त्यसैगरी, दुई नेताले नेपालस्थित जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्ट स्टेसन जोड्ने नयाँ यात्रुवाहक रेल सेवा 'सरयू–कमला एक्सप्रेस' को पनि भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर